हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्यको द्विशतकीय जन्मशताब्दीको उपलक्षमा गत: १३ जुलाईका दिन विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित साहित्य समारोहमा नेपाली भाषासाहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई पनि निम्त्याइएको थियो । उनले नेपाली भाषासाहित्यको अध्यनार्थ नेपालमा बिताइएका दिनहरूको सुमधुर सम्झना गर्दै भानुभक्त आचार्यको योगदान र महत्वबारे प्रकाश पारेकी थिइन् र नेपाली राजदूतावासमा २८ अप्रिल २००६ मा स्थापित नेपालविद्या पुस्तकालयका लागि नेपालविषयक अंग्रेजी, रूसी तथा नेपाली पुस्तकहरूका साथै आफ्नो कृति “मुस्ताङको बाटो” पनि नेइपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाज्यूलाई हस्तान्तरण गरेकी थिइन् । लण्डनमा अध्यापन गरिरहेकी उनकी सुपुत्री आन्जेलिनालाई मैले हाम्रा आदिकविको आद्यकविता “घाँसी” को रूसी अनुवाद पाठ गर्न लगाएको थिएँ ।
आज यहाँ म नेपाली पा!कसमक्ष आफ्नो पुस्तक “रूसमा नेपालको छवि” (हिमाल प्रकाशन गुठी, काठमाडौं, वि.सं. २०५६ । ई.सं. २०००) मा उनको विषयमा लेखिएको संक्षिप्त विवरणका साथै नेपालबारे उनका कृतिहरूको परिचय प्रस्तुत गर्दैछु ।
नेपाली भाषाको अध्यापन
gfnl russia
रुसमा नेपाली भाषाको अध्यापनको कुरा गर्दा मास्को राजकीय विश्वविद्यालयअन्तर्गत एशिया तथा अफ्रिका जन संस्थानको योगदान बिर्सन सकिंदैन । यहाँबाट नेपाली भाषा पढेर सन् १९७७ मा स्नातकको उपाधि पाउने युवा नेपालविद्हरु हाल विभिन्न क्षेत्रमा कार्यरत छन् । यस परिप्रेक्ष्यमा इतिहासविद् सेर्गेइ लुन्योभ, नृवंशविद् अलेक्सान्द्र लेद्कोभ, साहित्यविदुषी येलेना आउबेकिरोभा, भाषाविद् आर्गो आभाकोभ आदिको नाम लिन सकिन्छ । यसरी तयार हुन गएका नयाँ पुस्ताका नेपालविद्हरु अहिले पनि नेपालको अध्ययनमा जुटेका छन् ।

यहाँनेर नेपालविद् आर्गो आभाकोभ र साहित्यविदुषी येलेना आउबेकिरोभाको संक्षेपमा चर्चा गर्न चाहन्छु । उनीहरु दुवैजनासंग यस पंक्तिकारले केही वर्ष संगसंगै काम गर्ने सम्भावना पाएको थियो । दुवै युवा नेपालविद्हरुलाई नेपाली भाषाको सैद्धान्तिक र व्यावहारिक ज्ञान छ । येलेना आउबेकिरोभाले “सन् १९५०–१९७० मा नेपाली यथार्थवादी कथासाहित्य” (ई.सं. १९७८) भन्ने विषयमा शोधप्रवन्ध लेखेर स्नातकोत्तरको उपाधि प्राप्त गरेकी थिइन् । हाल उनी रसियाली विज्ञान एकेडेमीअन्तर्गतको वैज्ञानिक अनुसंधान पुस्तकालयमा कार्यरत छिन् । यसअघि उनले रादुगा (इन्द्रेनी) प्रकाशनगृहमा एक दशक जति सम्पादिकाको हैसियतले काम गरेकी थिइन् । त्यहाँबाट मेरो अनुवादमा प्रकाशित पुश्किन, लेर्मोन्तोभ, तुर्गेनेभ, तोल्सतोय, ग्रीन, गोर्की, शोलोखोभ, आइतमातोभ आदि रुसी लेखककविहरुका साहित्यिक कृतिहरुको सम्पादन उनले गरेकी थिइन् । आर्गो आभाकोभ चाहिं हाल रसियाली परराष्ट्र मन्त्रालयमा कूटनीतिज्ञको रुपमा कार्यरत छन् । उनले “नेपाली भाषाको रुपविधानको विवेचना” (ई.सं. १९७७) भन्ने शोधप्रबन्ध लेखेर स्नातकोत्तरको उपाधि प्राप्त गरेका थिए । उनको शोधप्रबन्धमा रुपविधानका तत्वहरुको विश्लेषण प्रस्तुत गर्दै नेपाली भाषाको मौलिकताबारे सम्यक् प्रकाश पारिएको छ । शुरुमा रेडियो मास्कोको नेपाली सेवामा एक सम्पादक एवं संवाददाताको हैसियतले उनले केही वर्ष कार्य गरेका थिए । पछि नेपालमा सोभियत रुसको राजदूतावासमा केही वर्ष काम गरी नेपाली भाषाको व्यावहारिक ज्ञान हासिल गरेका थिए र रामैसंग नेपाली बोल्न समर्थ बनेका थिए ।

नयाँ पुस्ताका नेपालविद्हरुलाई नेपाली पढाउने प्राध्यापिका हुन् : नाताल्या मार्कोभ्ना कार्पोभिच । उनी हाल बेलायतमा कार्यरत छिन् । उनको जन्म सन् १९४७ को १४ जुलाईका दिन मास्कोमा भएको हो । उनका पिता मार्क दिमित्रियेभिच हाल अवकास लिएर बसेका छन् । उनले आफ्नो समयमा इज्भेस्तिया (समाचार), क्रास्नाया ज्वेज्दा (लाल तारा) तथा लितेरातुरनाया गाजेता (साहित्यिक समाचारपत्र) आदि केन्द्रीय अखबारहरुमा एक पत्रकारको हैसियतले काम गरेका थिए । नाताल्याकी आमा आन्ना इभानोभ्ना चाहिं बालरोग चिकित्सिका हुन् । उनी स्वयं पनि आमा बनेकी छिन् र उनको छोरो पनि हुर्कंदैछ ।
नाताल्या कार्पोभिचले जुन शिक्षण संस्थानबाट सन् १९७० मा स्नातकोत्तरको उपाधि प्राप्त गरेकी थिइन् त्यहीं नै प्राध्यापिकामा नियुक्त भई रसियाली विद्यार्थीहरुको एक समूहलाई नेपाली भाषा र साहित्य पढाएकी थिइन् । स्नातकोत्तर प्राज्ञिक उपाधि हासिल गरेपछि विशेष अध्ययनका लागि उनी काठमाडौं पुगेकी थिइन् र २ वर्ष सम्म उनले त्रिभुवन विश्वविद्यालयमा नेपाली प्राध्यापकहरुबाट नेपाली भाषा र साहित्यको राम्रो ज्ञान हासिल गरिन् । हाम्रो बीच कुराकानी हुँदा अक्सर उनी आफ्ना गुरु चूडामणि बन्धु तथा वासुदेव त्रिपाठीको बारेमा बताउन उत्सुक रहन्छिन् । हामी अक्सर नेपालीमै कुरा गर्दथ्यौं । उनी निकै राम्रो नेपाली बोल्न सक्तछिन् भन्ने त उनीसंग कुराकानी गर्नेबित्तिकै थाहा पाइन्छ ।
नेपालविषयक अनुसंधान गर्ने एक समूह ५ वर्षको अध्ययनपश्चात् तैयार भइसकेपछि नेपाली भाषाको अध्यापनको कार्य रोकिएको हुँदा नाताल्या कार्पोभिच नेपाली भाषाको क्रियापदको रूपसम्बन्धी अनुसंधानमा संलग्न रही विद्यावारिधिको प्राज्ञिक उपाधि प्राप्त गर्ने उद्देश्यले प्राच्यविद्या संस्थानमा सरिन् । विभिन्न संग्रहहरुमा उनका भाषिक अनुसंधानसम्बन्धी लेखहरु परेका छन् । उदाहरणका लागि भन्ने हो भने सन् १९८४ मा मास्कोको नाउका (विज्ञान) प्रकाशनगृहबाट छापिएको “भाषिक अनुसंधान” नामक संग्रहमा समाविष्ट उनको लेख “नवहिन्दआर्य भाषाहरुमा तथाकथित पूर्वकालको रुपबारे” (२२ ख, पृष्ठ १३१-१३७), “नेपाली भाषामा भविष्यत् कालका रुपहरुबारे” (२२ ग, पृष्ठ २१-२३) एवं “नवहिन्दआर्य भाषाहरुमा क्रियापदका प्रकारहरु : नेपालीको उदाहरणसहित” (२२ क, पृष्ठ १७१-१७२) शीर्षकका टिपोटहरु उल्लेख्य छन् । उपरोक्त लेखहरुको शीर्षकबाट नै विषयवस्तुका साथै विवेच्य विषयको पनि बोध हुन्छ ।
नेपाली भाषाविदुषी नाताल्या कार्पोभिचले नेपाली भाषाको स्वाध्ययन जारी राख्नुका साथै अनुवादको माध्यमबाट पनि रुसी पाठकहरुलाई नेपाली साहित्यको परिचय दिएकी छिन् । “मुस्ताङको बाटो” (ई.सं. १९७८) शीर्षकको उनको पुस्तकबारे यथास्थान चर्चा गरिनेछ ।
हाल रुसमा नेपाली भाषाको अध्यापन हुँदैन तापनि नेपाली सिक्न इच्छुक रसियालीहरुको संख्या घटेको छैन । उनीहरुको सहयोगार्थ यसै पंक्तिकारद्वारा रुसी भाषाभाषीका निम्ति स्वयंशिक्षकको रुपमा “नेपाली वर्णमाला” (पृष्ठसंख्या ७२) शीर्षकमा एक पुस्तक सन् १९९४ मा मास्कोबाट प्रकाशमा ल्याइएको छ । स्वाध्ययन गर्न इच्छुक रसियालीहरुको निम्नि संक्षेपमा नेपाली (देवनागरी) अक्षरको उच्चारण, व्याकरणका नियमहरु, रुप-परिवर्तनका तालिकाहरु, रुसी लिप्यान्तरणसहित नेपाली शव्द र वाक्यहरु, अनि अन्त्यमा अभ्यास समेत दिई सुबोध पाराले नेपाली बोल्न र लेख्न सिकाउने यसमा प्रयास भएको छ ।“… देवनागरी लीपिको बोध गराउनुका साथै नेपाली भाषाको निश्चित शव्दभण्डार एवं आधारभत व्याकरणात्मक नियमहरुको समेत क्रमशः जानकारी दिंदै सरल वाक्यरचना गर्न सिकाउनु यस पुस्तकको मुख्य उद्देश्य रहेको छ,, (१०९ छ, पृष्ठ ४) ।
(रूसमा नेपालको छवि, काठमाडौं, ई.सं. २०००, पृ. ५४-५६)
मुस्ताङको बाटो

मास्कोको नाउका (विज्ञान) प्रकाशनगृहबाट सन १९७८ मा “मुस्ताङको बाटो” भन्ने शीर्षकमा रूसी विदुषी नाताल्या कार्पोभिचको पुस्तक प्रकाशमा आएको थियो । यस पुस्तकको गातामा बौद्ध देवताको चित्रमुन्तिर रचयिताको नाम र किताबको शीर्षक दिइएको छ । यस पुस्तकको भूमिकामा रूसी नेपालविद् आल्गिस प्राजाउसकासले जनाएअनुसार “देशको गहन अध्ययनार्थ नाताल्या कार्पोभिचले आफ्ना दुर्इ सहयात्रीहरू (नेपाली उमाकान्त मिश्र र अंग्रेज डेनियल ब्राउन) को साथमा झण्डै पुरै नेपाल अधिराज्य वारपार गरेकी थिइन् । उनीहरूले यस बाटोको धेरैजसो हिस्सा पहाडी भिरालो र खोंचहरू हुँदै पैदल नै पार गर्नुपरेको थियो” (पृष्ठ ३) ।

सर्वप्रथम पाठकहरूलाई प्रस्तुत पुस्तककी रचयिताको नै संक्षिप्त परिचय दिनु आवश्यक ठान्दछु । नाताल्या कार्पोभिचलाई म सन् सत्तरीको दशकदेखि नै चिन्दछु जतिखेर उनी एशिया तथा अफ्रिका जन संस्थानमा नेपाली भाषाकी प्राध्यापिका थिइन् । सन् १९७० मा मास्को राजकीय विश्वविद्यालयको पढाइ समाप्त गरेपछि उनले हाम्रो त्रिभुवन विश्वविद्यालयमा २ वर्षजति नेपाली भाषा र साहित्यको अध्ययन गरेकी थिइन् । त्यसै वेला उनले भैरहवा, पोखरा र जोमसोमसम्मको भ्रमण गरेकी थिइन् । आफ्नो यस यात्राको उद्देश्यबारे उनले एक ठाउँमा लेखेकी छिन् : “…म दक्षिणदेखि उत्तरसम्म नेपाललाई छिचोल्न चाहन्थें र देशका भित्री इलाकाहरू पनि हेर्न चाहन्थें । सकभर बढी देख्न पाइयोस् भन्ने उद्देश्यले हामीले यात्राको विशेष बाटो तय गर्यौं । हामी अर्थात् त्रिभुवन विश्वविद्यालयका प्रशिक्षार्थीहरू : नेपाली उमाकान्त मिश्र, अंग्रेज डेनियल ब्राउन र यी हरफहरूकी लेखिका । शुरुमा काठमाडौंबाट दक्षिणतिर तराईमा भारतको सीमानेरै रहेको भैरहवा, अनि माथि उत्तरतिर तानसेन, त्यसपछि पोखरा र त्यहाँबाट तिव्बतको सीमानेर रहेको मुस्ताङतर्फ लाग्यौं” (पृष्ठ १०३) ।

प्रस्तुत पुस्तकमा यसै यात्राको वर्णनको सिलसिलामा नेपालको भौगोलिक स्थिति, जलवायु, प्राकृतिक दृश्य, वनस्पति र जीवजन्तु, मन्दिर र घरहरू, शहर र गाउँहरू, जनजाति र रहनसहन, भाषा र साहित्य आदिको पनि सम्यक् जानकारी दिइएको छ । आउनोस्, हामी पनि लेखिकाको साथसाथै मुस्ताङको बाटोमा सर्सर्ती नजर दौडाएर केही क्षण विचरण गरौं ।

कुनै पनि देशको यात्राको प्रस्थानविन्दु त्यस देशको राजधानी नै हुन्छ । मुस्ताङको बाटो पनि काठमाडौंदेखि नै शुरू हुनु स्वाभाविकै छ । नाताल्या कार्पोभिच लेख्तछिन् : “काठमाडौं वास्तवमा नै संसारकै एउटा अति नै रमणीय राजधानी हो । मेरो विचारमा, पुराना घरहरू भएका इलाकाहरूसहित नयाँ वास्तुकलाका तत्वहरूको आश्चर्यजनक समन्वयमा र मुख्यतया धेरै तला भएका छानाहरूसहित पैगोडा (मण्डप) शैलीका नेपाली मन्दिरहरूमा, बौद्धस्तुपहरूमा र देवदेवी तथा पवित्र पशुपक्षी आदिका ढुङ्गा एवं काठमा कुँदिएका ठूला र साना मूर्तिहरूमा नै यस शहरको अद्वितीय मौलिकता सन्निहित रहेको छ । शश्यस्यामला उपत्यकामा रहेको यो सानो नगर चारैतिरबाट अग्ला अग्ला हरिया पर्वतहरू र केही टाढा सेता हिउँचुलीहरूले परिवेष्ठित छ…” (पृष्ठ ३६) ।

लेखिकाले काठमाडौं उपत्यकाका “शहर जस्ता गाउँहरू र गाउँ जस्ता शहरहरूमा” धेरैपल्ट ओहोरदोहोर गरेकी थिइन् । अतः नेपालको मौलिक वास्तुकलाबारे पनि उनले आफ्ना मन्तव्यहरू व्यक्त गरेकी छिन् । काठमाडौं उपत्यकामा र देशका अन्य इलाकाहरूमा पनि स्तुप र पैगोडाको अतिरिक्त उत्तरी भारतमा प्रचलित शिखर शैलीका मन्दिरहरू पनि नभएका होइनन् । परन्तु काठमाडौं, पाटन र भादगाउँमा मात्र होइन, देशका अन्य भागहरूमा पनि मुख्यतः पैगोडा शैलीका मन्दिरहरू, प्राचीन दर्वार र घरहरू समेत रहेका हुनाले धरातलीय, वातावरणीय तथा नृवंशात्मक तथ्यहरूको आधारमा प्रस्तुत पुस्तककी लेखिकाले पैगोडा शैलीको उद्गमस्थल नेपाल नै हुन सक्ने परिकल्पनाको समर्थन जनाउँदै निम्न निष्कर्ष निकालेकी छिन् : “नेपालका मन्दिरहरू मुख्यतया पैगोडा शैलीका नै छन् र काठमाडौं चाहिं मन्दिरहरूको शहर हो” (पृष्ठ ३४) ।

हुन पनि सम्पूर्ण काठमाडौं उपत्यकामा अन्दाजी २४०० मन्दिरहरू छन् जसमध्ये कैयौं वस्तुतः अमूल्य निधि मानिन्छन्, जस्तै कि भक्तपुरको पचपन्नझ्याले राजदर्वार । काठमाडौं उपत्यकाभरि छरिएका विभिन्न गाउँहरू समेत आफ्नै खालका म्युजियम नै हुन् भन्नु अत्युक्ति हुने छैन। उपत्यकाका प्रमुख तीन राजधानी नगरहरू मात्र होइनन्, अन्य बस्तीहरू पनि वास्तवमा शहर नै हुन् । काठमाडौं उपत्यकाका उपनगरहरूलाई शहर नभनी गाउँ भन्नाको मुख्य कारण के हो त भन्ने प्रश्नको उत्तरमा नाताल्या कार्पोभिचले पांगाको उदाहरण दिंदै लेखेकी छिन् : “मलाई लाग्छ, वाह्य संसारबाट पांगा अलग्ग रहनु नै यसको मुख्य कारण हो । काठमाडौंबाट र अझ कीर्तिपुरबाट त पांगा एकदमै नजिक छ, परन्तु त्यहाँसम्म मोटरद्वारा पुग्न सकिंदैन । पांगामा मालसामान समेत मानिसले बोकेर पुर्याउनुपर्ने हुन्छ” (पृष्ठ ६७) । नेपालका अन्य कतिपय बस्तीहरूको निम्ति पनि यो कथन चरितार्थ हुने हुँदा लेखिकाले निष्कर्षस्वरूप लेखेकी छिन् : “आश्चर्यको कुरा के छ भने नेपालमा गाउँजस्ता शहरहरू र शहरजस्ता गाउँहरू प्रशस्त छन्” (पृष्ठ ६७) ।

प्राचीन कालदेखि नै नेपालका वासिन्दाहरूले प्रकृतिसंग सामञ्जस्यता कायम राखेर बाँच्न सिकेको चर्चा गर्दै नाताल्या कार्पोभिचले अंशतः लेखेकी छिन् : “उनीहरूले प्रकृतिबाट धेरै कुराको अनुकरण गरेका छन् । उदाहरणस्वरूप पैगोडा शैलीका मन्दिर, नेपाली टोपी, गुरूङ नाचकै उल्लेख गर्न सकिन्छ…” (पृष्ठ १७६) । यसैउसले नेपालीहरूको भेषभूषा, रीतिथिति, रहनसहन, संस्कृति र कलामा अर्थात् जीवनका सबै क्षेत्रहरूमा आफ्नै विशेष मौलिकता कायम रहन गएको छ। रूसी विदुषीले आफू पुगेको हरेक ठाउँको आफ्नै विशिष्टता भएको कुरामा जोड दिएकी छिन् ।
अरु त के, प्राकृतिक दृश्यमा समेत हरेक ठाउँको आफ्नै मौलिकता रहेको कुरा जनाउँदै पोखराको सन्दर्भमा उनी लेख्तछिन् : “पोखराको दृश्य कतै देखे देखे जस्तो लाग्छ तापनि यो अद्वितीय छ । आँखाअगिल्तिर त्यहाँ देखिने प्राकृतिक दृश्य अभूतपूर्व छ भन्नु अत्युक्ति होवैन, यद्यपि नेपालका प्राकृतिक दृश्यहरूले जनमानसमा निकै ठूलो प्रभाव उत्पन्न गर्दछन्” (पृष्ठ १३०-१३१)। वास्तवमा पोखरा उपत्यकाको प्राकृतिक छटाले लेखिकालाई मोहिनी लगाएको छ भन्न सकिन्छ । यसैले त उनी निष्कर्षमा लेख्तछिन् : “यदि चमत्कारपूर्ण प्राकृतिक दृश्य भएको नेपाल दक्षिण एशियाको रेशमी पोशाकको बुट्टेदार कलर हो भने पोखरा उपत्यका चाहिं त्यसमा जगमगाइरहेको हीराको सानो फुली हो” (पृष्ठ १२२) ।

चारैतिर खुला टाकुरामा रहेको गाउँ होस् अथवा पहाडको अनकन्टार खोंचमा रहेको बस्ती होस्, नेपालका गाउँबस्तीहरूले नेपालीहरूको सौर्न्दर्यप्रेमको परिचय दिइरहेझैं लेखिकालाई प्रतीत हुन्छ। कालीगण्डकीको उपल्लो भागमा पर्ने “गाउँ भनूँ भने निकै ठूलो, अनि शहर भन्नका लागि वाह्य संसारबाट निकै टाढा” अवस्थित टुकुचेको सन्दर्भमा उनी लेख्तछिन् : “टुकुचेलाई केन्द्रीय एशियाको ढोका भनिन्छ । यस बस्तीको आकारप्रकार, चिटिक्क परेका घरहरू, सम्पन्न वासिन्दाहरू आदिको कारणले मात्र नभई यसको अवस्थिति र यहाँबाट देखिने प्राकृतिक दृश्यले गर्दा समेत हामी प्रभावित हुन पुगेका थियौं” (पृष्ठ १७०) ।

नेपालको उत्तरवर्ती दुर्गम भेकको पैदल यात्रा गर्दै जोमसोमसम्म पुग्ने सम्भवतः प्रथम रसियाली नारीले यस ठाउँको बारेमा व्यक्त गरेको विचार पनि यहाँ उद्धृत गर्नु अप्रासांगिक हुनेछैन। “झण्डै तीन किलोमीटरको अग्लाइमा रहेको भए तापनि चारैतिरबाट अग्ला पहाडहरूद्वारा परिवेष्ठित जोमसोम एउटा उपत्यकामा रहेको प्रतीत हुन्छ । पहाडहरूद्वारा यो वस्ती घेरिएको छ र पृथ्वीको अन्तिम पुच्छर नै यही हो कि भनेझैं लाग्दछ । परन्तु यसको उत्तरतर्फ चार हजार मीटरको अग्लाईमा पहिलेको मुस्ताङ राज्य रहेको छ” (पृष्ठ १८२) ।
नाताल्या कार्पोभिचले मुस्ताङसम्मको बाटो मात्र पार गरिन्, तर आफूले चाहिं मुस्ताङ हेर्न पाइनन् । जे होस्, यस यात्राको अनुभवबारे उनले रसियाली पाठकहरूलाई बताएकी छन् । नेपालको प्राकृतिक अवस्थितिबारे उद्गार पोख्तै उनी लेख्छिन् : “यस्तो छ नेपाली प्रकृतिको चमत्कार ! दक्षिणदेखि उत्तरसम्म यसको चौडाइ सरदर दुर्इ सयदेखि दुर्इ सय पचास किलोमीटर छ । यदि यो समथर प्रदेश हुँदो हो त सम्पूर्ण क्षेत्रफलभरि नै एकैनासको हावापानी रहने थियो । तर चमत्कार त यसैमा छ कि नेपालको धरातल अग्लो र होचो परेको छ अर्थात् यहाँ अग्ला पहाडहरू र गहिरा उपत्यकाहरू रहेका छन्” (पृष्ठ ९६) ।
दक्षिणमा गङ्गाको मैदानदेखि उत्तरमा तिव्बतको पठारसम्म फैलिएको सानो तर विविधतायुक्त यस देशका वासिन्दाहरूको बारेमा पनि लेखिकाले सम्यक् प्रकाश पारेकी छन् । नेपालमा विभिन्न जनजातिका मानिसहरू बस्तछन् भन्ने कुरा सर्वविदितै छ । नृवंशवेत्ताहरूले तिनलाई मुख्यतः दक्षिणी यूरोपेली बान्कीका र मङ्गोल बान्कीका गरी दुर्इ भागमा बाँड्ने गरेका छन् । परन्तु नेपालको नृवंशात्मक बनोटको सन्दर्भमा उक्त पुस्तकमा भनिएझैं “आधुनिक नेपालका उपत्यकाहरू र पहाडहरू प्राचीन कालदेखि नै उत्तर र दक्षिणतिरबाट बसाइँ सर्दै आएका विभिन्न जनजातिहरूको सङ्गमस्थल भएको हुनाले वर्तमान नेपालका जनतालाई नृवंशात्मक दृष्टिले उपरोक्त दुर्इ किसिममा मात्र विभेद गर्न सकिंदैन । विभिन्न नृवंशात्मक समुदायहरूका बीच लामो अवधिसम्म आपसी सम्पर्कको परिणामस्वरूप नयाँ नृवंशात्मक रूपहरू पनि देखापरेका छन् जसलाई सांसर्गिक अथवा अर्को शव्दमा मिश्रित भन्न सकिन्छ” (पृष्ठ ५६ ः ५७) ।

रूसी लेखिकाले प्रस्तुत पुस्तकमा यस्ता मिश्रित नृवंशात्मक रूपअन्तर्गत पर्ने नेवार गुरूङ, मगर आदिको साथसाथै थकाली, शेर्पा आदि समेत नेपालका विभिन्न जनजातिहरूको भेषभूषा, चालचलन, रीतिरिवाज, मनोभावना इत्यादिको पनि ठाउँ ठाउँमा चर्चा गरेर निकै रोचकता उत्पन्न गरेकी छन् । नेपालीहरूको धार्मिक अवधारणा र उत्सवपर्वहरूबारे पनि उनले कलम चालेकी छन्।

नेपालका सवा एक करोड (अहिले साढे दुई करोड छ – श्रेष्ठ) जनसंख्यामध्ये, लेखिकाकै शव्दमा भन्ने हो भने, हिन्दूहरूभन्दा बौद्धहरूको संख्या झण्डै ११ गुना कम छ । तैपनि बौद्धदर्शन र बुद्धधर्मको प्रभाव यतिसम्म बढी छ कि नेपालीहरूको धार्मिक अवधारणामा त्यसले गहिरो जरा गाढेको छ र दुवै धर्मका विधिविधान, धार्मिक परम्परा, पूजाआजा र देवताहरू समेत अभिन्न बन्न पुगेका छन्” (पृष्ठ २७) । यस परिप्रेक्ष्यमा नेपालमा जातपातको व्यवस्थाबारे रूसी विदुषीद्वारा व्यक्त गरिएका विचारहरू पनि मननीय छन् । भारतको दाँजोमा नेपालमा जातपातको विशिष्टता यो पनि छ कि नेपालीहरूले जात र जातिको भेद छुट्याइरहनुपर्ने जरुरत देख्दैनन् अर्थात् जातपातको मर्यादाक्रममा पेशासित कुनै सम्बन्ध नराख्ने विभिन्न नृवंशात्मक समूह पनि हिन्दू वर्णव्यवस्थाअन्तर्गत पर्न गएका जस्ता देखिन्छन् । यस सन्दर्भमा उनी लेख्दछिन् : “नेपालीहरूसंग उनीहरूको जातबारे प्रश्न गर्दा कसैलै ब्राह्मण, कसैले क्षेत्री त कसैले चाहिं गुरुङ, मगर अथवा राई भन्ने जवाफ दिन्छन् । गुरूङ, मगर र राई त कुनै पेशामा आधारित समूह नभई नृवंशात्मक समूह हुन्” (पृष्ठ १३३) । जे होस्, भारतको तुलनामा नेपालमा जातपातको सम्बन्ध “बढी उदार र लचकदार” छ भन्नै पर्दछ ।

रूसी लेखिकाले नेपालीहरूको जातीय चरित्र र बानीबेहोरा पनि राम्रोसित बुझेको चाल पाइन्छ । यहाँ त्यसको सविस्तार चर्चा गर्न नसकिए तापनि लेखिकाको निम्न कथन निकै घालाग्दो हुँदा उद्धृत गर्न चाहन्छु : “नेपालीहरूमा आत्माभिमानको भावना प्रचूर मात्रामा छ । हुन त एशियाका अन्य देशहरूको तुलनामा जनजीवनस्तर अझै निम्न रहेको छ, तैपनि कस्तै गरीबले पनि सामान्य भीखमङ्गाको स्तरसम्म आफूलाई कदापि गिराउन चाहँदैन । उसले येनकेन प्रकारेण आफ्नो निम्ति कुनै न कुनै काम अवश्य खोज्नेछ जसको आधारमा ऊ आफ्नो र आफ्नो परिवारको पेट पाल्न केही हदसम्म समर्थ हुन्छ” (पृष्ठ ६४) ।
नेपालीहरूको आर्थिक अवस्थाको चर्चा चलि नै हालेपछि यस विषयमा उम्त पुस्तकमा गरिएको चर्चा-परिचर्चा पनि केही कोट्याउनु युक्तिसंगत नै होला भन्ने ठान्दछु । लेखिकाले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने सोभियत रूसको सहायताबाट नेपालमा निर्मित औद्योगिक परियोजनाहरू -जनकपुर चुरोट कारखाना, बीरगञ्ज चीनीमिल, कृषि औजार कारखाना, पनौती जलविद्युत् केन्द्र, सीमरा जनकपुर राजमार्ग इत्यादिको उल्लेख गर्नुका साथै नेपालको औद्योगिक विकासका अन्य पक्षतर्फ पनि ध्यान आकर्षित गरेकी छन् । उदाहरणार्थ, एक ठाउँमा लेखिएको छ : “बालाजु मात्र काठमाडौं उपत्यकाको एउटा औद्योगिक केन्द्र होइन । राजधानी नजिकैको अर्को प्राचीन शहर पाटन (जसलाई ललितपुर भन्दछन्) पनि औद्योगिक केन्द्र हो । युगौंदेखि ललितपुरका काँसका मूर्तिहरू, पूजाआजाका सामानहरू, सुनचाँदीका गहनाहरू, काष्ठकर्म र तामाका भाँडाकुँडाहरू बनाउने शिल्पकलाले विकास गर्दै आएको थियो । अहिले पनि पाटनमा कुटीर उद्योगका शिल्पशालाहरू रहेका छन् र शिल्पकारहरूलाई तालीम दिने स्कूल समेत छ” (पृष्ठ ९४) ।

देशमा कुटीर उद्योगको परम्परा ज्यादै पुरानो भए तापनि अझै आधुनिक उद्योगधन्दाको चाहिंदो मात्रामा विकास भइ नसकेको हुँदा नेपालजस्तो कृषिप्रधान मुलुकको लागि गार्हस्थ्य वस्तु उत्पादनको ६५ प्रतिशत प्रदान गर्ने कृषिव्यवस्थाको भावी विकासको ठूलो भूमिका रहने कुरा निर्विवाद नै छ । यस परिप्रेक्ष्यमा कृषिसमस्याहरूको उल्लेख गर्दै लेखिकाले एक ठाउँमा व्यक्त गरेकी छन् : “नेपालको ९३ प्रतिशत जनसंख्या कृषिमा आधारित छ, तर देशको क्षेत्रफलको केवल १३ प्रतिशतमा मात्र खेतीपाती गरिन्छ । यो कृषियोग्य भूमिको आधा हिस्सा मात्र हो । बाँकी जमीन बाँझै छ, त्यसको आवादीको निम्ति चाहिने जनबल र साधनको कमी छ” (पृष्ठ १४८)।

यसरी नाताल्या कार्पोभिचले नेपालको आर्थिक गतिविधिको झलक पनि प्रस्तुत गरेकी छन् । तर खास गरी यात्रानुभूतिको वृतान्त समावेश गरिएको उनको प्रस्तुत पुस्तक मुख्यतः नेपालको सामाजिक तथा सांस्कृतिक विषयवस्तुमा नै आधारित छ । काठमाडौं उपत्यकाको उत्पत्तिसम्बन्धी मञ्जुश्रीको अनुश्रुति जस्ता किम्बदन्तीहरू पनि ठाउँ ठाउँमा दिइएको हुनाले यात्रावर्णन निकै रोचक हुन गएको छ ।

रूसी लेखिकाले नेपालीहरूसंग आफ्नो भेटघाट र नेपालका वयोवृद्ध चित्रकार चन्द्रमान सिंह मास्केसंगको चिनापर्चीबारे पनि सविस्तार बताएकी छिन् र विभिन्न समयमा तत्कालीन सोभियत संघमा आफ्नो कलाकृतिको प्रदर्शन समेत गर्ने प्रसिद्ध नेपाली चित्रकारको फोटो समेत यसमा छापिएको छ ।
यसै गरी १९२ पृष्ठ भएको यात्रावृतान्तमा नेपालका विभिन्न शैलीका मन्दिरहरू, नेपाली कलाकृतिहरू, प्राकृतिक दृश्यहरू तथा सामाजिक झाँकीहरू दर्शाउने फोटोसामग्री पनि दिइएको हुँदा कथ्य सामग्रीको रोचकता अझ बढ्न गएको छ । छोटकरीमा भन्ने हो भने “मुस्ताङको बाटो” ले रूसी लेखिकालाई काठमाडौंको चहलपहलबाट टाढा रहेको अनकन्टार गाउँसम्म पुर्याएर “वास्तविक” नेपालको झलक दिलाएको छ ।

प्रस्तुत पुस्तकको अन्त्यमा नाताल्या कार्पोभिच लेख्तछिन् : “आफ्नो यात्राकालमा मैले मैथिली र भोजपुरी भाषाभाषी तराईका किसानहरू, काठमाडौं उपत्यका र तानसेनका नेवारहरू, साथै गुरुङ, थकाली, शेर्पा, भोटे र तिव्बतीहरूलाई भेटेकी थिएँ । मैले नेपालको दक्षिण र उत्तर, केन्द्र र पश्चिम सबै ठाउँका विभिन्न उमेर, जनजाति र पेशाका मानिसहरूसित परिचित हुने मौका पाएँ… । मुस्ताङ को बाटोमा ज-जससंग मेरो भेटपरिचय भयो ती सबै मेरो हृदयमा र स्मृतिपटमा रहेका छन् । मलाई ती सहृदयी मानिसहरू र उनीहरूको प्राचीन, जटिल तथा सुन्दर मातृभूमिको सम्झना भइरहन्छ जुन देशको नाम हो : नेपाल” (पृष्ठ १९१) ।
(रूसमा नेपालको छवि, काठमाडौं, ई.सं. २०००, पृ. १८२-१८७)

नाताल्या मार्कोभ्नाका कार्पोभिचका प्रकाशित कृतिहरू
(रूसी भाषामा)
क. नवहिन्दआर्य भाषाहरूमा क्रियापदका प्रकारहरू (नेपालीको उदाहरणसहित) । भाषिक अनुसन्धान (लिंग्विस्तीचेस्कीये इस्लेदोभानिया), नाउका (विज्ञान) प्रकाशनगृह, मास्को, १९८४ । (पृष्ठ १७१-१७२)
ख. नवहिन्दआर्य भाषाहरूमा तथाकथित पूर्वकालको रूपबारे । भाषिक अनुसन्धान (लिंग्विस्तीचेस्कीये इस्लेदोभानिया), नाउका (विज्ञान) प्रकाशनगृह, मास्को, १९८४ । ( पृष्ठ १३१-१३७)
ग. नेपाली भाषामा भविष्यत् कालका रूपहरूबारे । भाषिक अनुसन्धान (लिंग्विस्तीचेस्कीये इस्लेदोभानिया), नाउका (विज्ञान) प्रकाशनगृह, मास्को, १९८४। (पृष्ठ २१-२३)
घ. मुस्ताङको बाटो (दोरोगा भ मुस्ताङ्ग) ।नाउका (विज्ञान) प्रकाशनगृह, मास्को, १९७८। (पृष्ठसंख्या : १९२)
ङ. गुरुप्रसाद मैनाली, नेपालको छोरो (सीन नेपाला) (कथा), अनुवाद : नाताल्या कार्पोभिच ।।रूकोपोझातिए, ताशकन्द, ई.सं. १९७६, पृ. १२९-१४०) ।

नाताल्या मार्कोभ्नाका कार्पोभिचसम्बन्धी प्रकाशित सामग्री
१। (कृष्णप्रकाश श्रेष्ठ, रूसमा नेपालको छवि, काठमाडौं, ई.सं. २०००, पृ. २२५) (नेपाली भाषामा)
२. (कृष्णप्रकाश श्रेष्ठ, मित्रता र सहयोगको गाँठो (ऊजी द्रुज्बी इ सत्रुद्निचेस्तभा), ई.सं. २००६, पृ. १८९, २२८, २४६) (रूसी भाषामा)
कृष्णप्रकाश श्रेष्ठ
१३ जुलाई २०१३ (शनिवार),
मास्को, रूस महासंघ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *