रहरहरूका सिगुंल माला उनेर
बाध्यता र बिवसताको बर्को पहिरिंदै
आँखाभरी जून फूलेको मिर्मिरेमा
सपना र चाहनाको लामो फेहरिस्त
छातीभरी खोपेर
मैले घर छोडेकी थिएँ
Miraman
रातो हुँदै गरेको पुर्व
र्सँग दुरी बढाउँदै,
अनवरत लम्केका मेरा पाइलाहरू,
आज यो मृत सागरको किनारामा थामिएका छन् ,
म हेर्दो छु पर-पर सम्म,
हावाको एक झोँकाले मेरो शरीर बढार्दै,
सडक पेटिमा लाम लागेर ठडिएका,
जैतुनका रूखबाट,
फूलहरू चुँडेर सडकभरी पोखिदिन्छ,
मेरा आँखाबाट आँशु पोखिए जस्तै,

समयको बहावसँग बग्नु जिन्दगी नहुँदो हो त,
तिर्खाले खोला धाउँनु बाध्यता नहुदो हो त,
मेरा उछितो काडिएका जवान रातहरू,
आलिंगनको तिर्सनाले सिरानीमा नपोखिदो हो,
दर्किएको बलेसीमा उठेका पानीका भुल्भुले झै,
यौवनका छालहरू क्षण मै नबिलाउँदो हो,
हो ,
समयको हुरीले उडाएर मलाई,
आज यो मृत सागरको किनारामा पछारेको छ|

तर अचानक ,
मेरो टाउको माथि उडेको कालो बादलले
आँखामा चाँदीको घेरो बिम्बित गरायो,
टारका टार तोरीबारी फूले झैँ,
मनभरी दृढ इच्छा फूलेर आयो ,
म उभिएकी छु आफ्नै पैतालामा ,
यो आगो जस्तो घामले पोल्न सक्दैन अब मेरो लक्ष्य,
भोगाइका सारा तिक्ततालाई,
कस्छु पटुकी बनाएर कम्मरमा,
अब यो मृत सागरको किनार देखि ,
सगरमाथाको शीर सम्मको मेरो यात्रा,
उबड खाबड र आँधिबेहेरीले रोक्न सक्ने छैनन्,
मेरो सूनाखरी र गुँरास फुल्ने पाखाहरू,
लैबरी र मारूनीका भाकाहरू,
आँखामा बसिसके,
मनमा गुन्जीसके|

सुर्यास्त हुनै लाग्दा देखी सुरू भएको,
मेरो यो यात्रामा,
आफ्नै आँखाको चमक र,
आकाशका ताराहरूले बाटो देखाउँनेछन्!!.

शुभ यात्रा

– हाल इजरायल

Comments

comments

Comments are closed.