गत १८ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको एकभेलाले पूनर्गठन गरि कवि मणिराज सिंहलाई नेतृत्व प्रदान गरेको छ ।

अनामनगर, काठमाडौको बिनायो रेष्टुरेष्टमा भएको स्रष्टाहरुको उक्त भेलाले क्रमशः उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठ, महासचिव बिना थिङ तामाङ, सचिव कमला रिसाल ज्योति, कोषाध्यक्ष शैलेन्द्र कुमार शाह, सदस्यहरु विद्या सापकोटा र उषा आचार्य चयन हुनुभएको छ ।

भेलामा साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल शाखाका अध्यक्ष रमेश कडेल लगायतको उपस्थिती रहेको थियो ।

नेपाल शाखाका नयाँ नेतृत्व कवि सिंह राष्ट्रिय कविता महोत्सव २०७३ मा नेपाल प्रथम बनेका थिए । महोत्तरीका स्रष्टा सिंहका ‘स्वरसम्राट नारायणगोपाल’ (जीवनी), ‘अक्षर खुर्पा र खुकुरीहरू’, ‘राजधानी छिरेपछि’, ‘तिम्रो सहरमा’, ‘ज्योतिका युगीन स्वरहरू’, ‘शब्दको चौतारीतिर फर्किएर’ र ‘ओ चन्द्रमा!’ कविताकृति प्रकाशित छन्। कवि सिंह विभिन्न संघसंस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका छन्। उनी ललितपुरमा बस्दै आएका छन् ।
—————————————————————————————————–

राष्ट्रिय कविता महोत्सव ०७३ मा प्रथम भएको कविताः

लोकतन्त्रको अस्मिता
·मणिराज सिंह

समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकिखानेहरूले
कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुवाद गर्नेछन्
मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैंस साटिएको
होससमेत हुनेछैन।

शब्दहरू नबुझिनेगरी
जब हल्लाले तातिनेछ बजार
उचाल्दै आफ्नै खप्पड र नलीहाड
ब्युँतिनेछन् पुर्खाहरू मसान भत्काउँदै
नदीहरू उफ्रँदै
घुघुती-बासुती गर्नेछन्
सूर्यको छातीमा
त्यतिखेर,
सूर्य-चन्द्र अङ्कित अटल झन्डामा
टल्काउँदै खुकुरीको धार
चट्याङहरू
खेती गर्न तम्सनेछन्
आस्था र विचारको।

एक टुक्रो भोकसित
नुन-खोर्सानी टोक्दै
मुर्कुटा भुइँचालो
आँखामा बास माग्दै हिँडेका सपनाहरू
काटकुट पारेर
जूनको सितनसित
तारेर खानेछ नयाँ बिहानी
उलटोबाट कखरा घोकाइनेछ बबुराहरूलाई
टाउको खाने निहुँमा
पटक-पटक सुत्केरी हुनेछ बैंसालु घाम
घाइते सम्भावना बोकेर
विरोध जुलुस निस्कनेछ हाँसहरूको
भालेहरू बास्दै हिँड्नेछन् मध्याह्नमै
सिउर उचालेर
त्यसबखत,
भूत र वर्तमान च्यापेर
नापिरहनेछ समय
लोकतन्त्रको अस्मिता !

२०७३ असार १६ गते १७:४३ मा प्रकाशित
————————————————————————–

दसगजा

मेरो खेतको आली मुन्तिर
मेरो स्वाभिमानको प्रतीक
शिर ठाडो पारी
निर्भिक उभिरहेको दसगजा
हिजो मात्रै
वर्षात्मा भिजेर हो कि
शत्रुले खोस्रेर हो
गर्ल्याम्म गुर्लुम ढलेको
सपना देखेँ मैले ।
जसरी,
सूर्यको अनुहारमा
कालो दलेर राहुले
सम्पूर्ण बस्तीमा
अँध्यारो छायाँ फिँजाएर
निर्दोष मनहरूमा
सुनामी भित्र्याउने प्रयत्न गर्छ
त्यसरी नै,
हँसिलो भविष्य लेख्न
समयको क्यानभासमा
घामका कुचीहरूले
नयाँनयाँ रङ्गहरू छरेर
मलीन मुहारमा
खुसीका सपना कोर्दा कस्तो होला
बलियो जग हालेर
एउटा दसगजा थप्दा कस्तो होला !

मधुपर्क २०६८ असोज

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *